Section 22
कसूरसँग सम्बन्धित सम्पत्ति फिर्ता गर्नु पर्ने

(१) फरार अभियुक्त वा कसूरदार सपुर्दगी गर्दा त्यस्तो अभियुक्त वा कसूरदारलाई नेपालमा पक्राउ गर्दाका बखत कसूरसँग सम्बन्धित सम्पत्ति र सोबाट आर्जित अन्य सम्पत्ति नेपाल सरकारले माग गर्ने राज्यलाई फिर्ता गर्न सक्नेछ ।

तर अन्य कसैको हक, दाबी वा अन्य कुनै पनि किसिमको दायित्व कायम हुने देखिएको सम्पत्ति फिर्ता गर्ने छैन ।

(२) नेपाल सरकारले माग गर्ने राज्यलाई सपुर्दगी गरेको फरार अभियुक्त वा कसूरदारको कसूरसँग सम्बन्धित अचल सम्पत्तिको हकमा सम्बन्धित सक्षम अदालतबाट जफत हुने ठहर भएमा त्यस्तो सम्पत्ति फिर्ता गर्ने कारबाही हुनेछ ।

(३) यस दफा बमोजिम फिर्ता गर्नु पर्ने सम्पत्ति नगद बाहेक अन्य कुनै रुपमा रहेको भएमा त्यसलाई प्रचलित बजार मूल्यमा बिक्री गरी नगदीमा फिर्ता गरिनेछ ।

तर कसूरसँग दशी प्रमाणको रुपमा पेश हुने वा माग गर्ने राज्यले जिन्सीमा नै फिर्ता गर्न माग गरेको सम्पत्ति जिन्सीमा नै फिर्ता गरिनेछ ।